Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

हर रात झुल्किने तारा बन्नु भयो - मेरा'बा [सम्झना ]

केहि कुराहरु हुदा रहेछन, जुन सत्य भए नि पत्यार नलाग्ने ! खै कुन्नि किन हो आफ्नै आँखा अघि, आफ्नै सामुन्नेमा भएको घटना तर नि अह विश्वास नै हुदैन ! जबरजस्त विश्वास गर्नु परेको छ यो सत्यता लाइ ! गीतमा योगेश्वर अमात्य भन्नु हुन्छ -लोग्ने मान्छे भएर, रुनु हुन् ...’  तर त्यस्तो साहस बटुल्न नै सकिन मैले ! सम्झी सम्झी रुन मन लाग्ने ! लोग्ने मान्छेको मन चाहि कहाँ ढुंगाको हुदो रहेछ र ? मनै त हो ! सत्य अनि आफ्नै सामु भएको घटना लाइ विश्वास गर्न / पत्याउन नसके पछी ... मन त्यसै भाच्चिएर भक्कानिदो रहेछ ... नसुक्ने हिम नदि झैँ घरि घरि नयन देखि शयन सम्म रुझ्ने आशुको दलिन भेल भै आइदिदो रहेछ आफैले थाहै नपाइ !
जव बा आफ्नै अघि हेर्दा हेर्दै वोल्दा ओल्दै वित्नु भो ... लाग्यो पुरै संसारै अँधेरो भो ! सपना हो कि यो विपना हो ? अब मैले बुवा भनेर वोलाउन पाउने छैन ! कसलाई बुवा भन्ने ? अब हाम्रो बा रहनु भएन ! अब मेरो परिचय बदलिएको छ टुहुरो झैँ भएको छु ! होइन होला ... मेरो बा अझै जीवित हुनु हुन्छ हैन कतै हुनु हुन्छ होला ... यस्ता कुराहरुले  मेरा मानसपटलमा चक्कर कटिराछन् हरदम !
      हरेक कुरामा आफुलाई केयर र मोटिभेट गर्ने बालाइ म उहाको सामिप्यमा त्यति नरहे पनि  केहि वर्ष अघि देखि मैले उहा लाइ केयरिंङ्ग र मोटिभेट गर्दै आएको थिए ! जस्तो कि ... मान्छेका छोरा छोरी लाइ बाआमाले कति सम्झाउनु पर्छ ... यस्तो गर, उस्तो नगर भनेर ..अनि भनेको नमानेर कति दु:ख दिन्छन तर हामी त उल्टै पो बालाइ सम्झाइ-बुझाई गर्दैछु, दिदी-बैनी ..हामी सबैले राम्रै गरि खाछम क्या रे ... तपाइले दु:ख मान्ने कुरै छैन नि !,आफ्नो  स्वास्थ्यको ख्याल गर्नुस है .., विरामको वेला मुख राम्ररी बार्नु (विरामको समयमा खान नहुने कुराहरु नखानु ), तागतिला खानेकुरा, फलफुल जे खान मन लाग्छ भन्नुस हामी ल्याइदिम्छम्, बरु मासु कति खान मन लाग्छ खानुस ! विमार त ठिक भै हाल्छ नि ... वढी चिन्ता नगर्नु अनि तपाइँ लाइ मन पर्ने ठाउँहरु डुल्न जानु पर्छ, ... बुवा म आए पछी चाही फ्यामिली पिक्निक जाने है पुरै जम्बो टिम नै जानु पर्छ ! भन्दा,  “.. सबैको जोडी छन खै तेरो चाही ..? त्यसै फ्यामिली पिक्निक हुन्छ भनेर हसाउने नि गर्नु हुन्थ्यो बा !
       बा विगत ३ वर्ष देखि विरामले गर्दा ओल्लो घर पल्लो घरमै मात्र सिमित हुनु हुन्थ्यो त्यो पनि लौरो टेक्दै ! बस्न, खान, कुरा गर्न भने सामान्य झैँ अनि घरमा नानीहरु हेर्न मज्जाले गर्नु हुन्थ्यो ! त्यहि समय देखि हो ... बाले अलिक हिम्मत हार्नु भए जस्तो कुरा गर्नु हुन्थ्यो अब धेरै बाच्दीन होला दबैले साह्रै साह्रै काम गर्छ जस्तो छैन ! जस्ता कुराहरु गर्नु हुन्थ्यो ! बाका धेरै इच्छाहरु मध्ये यहाँ केहीको चर्चा गर्छु ... मलाइ थाहा भए सम्म बाको केहि इच्छाहरु थिए जस्तो: प्लेन चढेर यात्रा गर्ने, नाती हेरेर (छोरा पट्टिको) मात्र मर्ने, मर्नु अघि कान्छा (म) को विहे गर्न पाए ढुक्क हुने थिए अरु सबैको भो .. आदि आदि ! थाहा छैन कसरी उहा अक्सर भन्ने गर्नु हुन्थ्यो ६० को हाराहारीमा मर्छु भनेर !
       बाको प्लेन चढ्ने रहर थाहा पाए पछी करिब ४ बर्ष अघि मैले बाआमा लाइ देश घुमाउन निधो गरेको थिए तर विरामी र सधै औषधी सेवन गर्नु पर्ने भएकोले (कमजोरीका कारण पनि ) म सँग देश डुल्न बाजान सक्नु भएन .. जुन उहाको इच्छा अधुरै रह्यो तर आमा लाइ मात्रै भएनी प्लेन चढाएरै देश (विशेष त धार्मिक स्थल) घुमाएको थिए, त्यो वेलामा ! अर्को इच्छा चाही - बाको मर्नु भन्दा अघि नाति हेर्ने सपना भने पुरा भयो ... माल्दाईको छोरा जन्मेको महिना दिन पनि पुग्न भ्याएको थिएन बाको निधन हुदा ! अनि तेस्रो इच्छा चाही, मलाइ उहा ३ वर्ष अघि देखिनै अब म धेरै बाच्दीन होला विहेगर भन्नु हुन्थ्यो तर म भने उमेर, करिअर आदि कारण देखाउदै पन्छिदै आएको थिए ... मलाइ लाग्दैन थियो बा यदि चाडै दिवंगत हुनु होला भनेर यो इच्छा नि अधुरै भो, उहाको त्यो नि उहाको प्यारो छोरा कै कारण ! अहिले लाग्छ उहाको इच्छा पुरा गर्न सकिन अटेरी भए ! आखिर विहे गर्दिएको भए नि हुने रहेछ ... उहाले आनन्दको स्वास फेर्न त पाउनु हुन्थ्यो .. खड्को नै रह्यो उहाको मनमा अनि बाको इच्छा पुरा गर्न नसकेकोमा मेरो मनमा पनि ! उहाको उमेर र स्वास्थ्य अवस्था हेर्दा त्यस्तो नाजुक पनि थिएन ! तर उहा भन्ने गर्नु हुन्थ्यो ६० को हाराहारीमा मर्छु भनेर तर यो भने ठ्याकै भयो उहा ६४ वर्ष पुरा मात्र हुन् पाउनु भयो !
       हुन् त मैले मेरो बाको मृत्यु आज भन्दा आठ वर्ष अघि नै देखि सकेको थिए ! न्युरो हस्पिटल, विराटनगरमा हुदा (वि.स.२०६३), बाब्लड प्रेसर हाइ र प्यारालाइसीसको प्यासेन्ट हुनु हुन्थ्यो सिटि स्क्यान गर्न विराट नरसिंह हस्पिटल पुग्दा ! एक्कासी ड्याडीले ह्वाल ह्वालती डरलाग्दो तरिकाले निक्कै ब्लड भोमिट गर्नु भयो (जुन मैले पहिलो पटक त्यस्तो भएको देखेको थिए), जिउ तनक तन्काउनु भयो, पुरै विहोस पर्नु भयो ... आँखामा पुरै हुस्सु लागे जस्तो धमिलो सेतोले ढाक्न थालेको थियो ! मैले सुनेको थिए मान्छे मर्ने वेलामा उसको आँखा विस्तारै सेतो जस्तो कुहिरोले ढाकछ भनेर ... म डाराए, टाउको चिटचित भएर पसिना आउला जस्तो भो, लाग्यो अब बुबा रहनु भएन ... के गर्ने? कसो गर्ने? कसलाई भन्ने ? .......... तर त्यसको निक्कै वेर पछी बा सामान्य हुनु भयो र नियमित औषधि उपचारले करिब महिना दिन पछी पुन: पहिला कै नर्मल जीवनशैलीमा फर्किन सफल हुनु भएको थियो ! त्यसरी मृत्युको मुख बाट जोगाउन सके पछी लागेको थियो ... मान्छे सजिलै नमर्ने रहेछन भनेर ! अनि बीच बीचमा हल्का बिराम हुनु हुदा त्यस्तो खासै डर लाग्दैनथ्यो पनि !
       खर्च नगर, हस्पिटल नलैजा भनेर भन्नु हुने बा लाइ, यति साह्रो हरेश नखानु केहि हुदैन सब ठिक हुन्छ भनेर भने पछी मात्र उहा हस्पिटल जान राजि हुनु भएको थियो ! हस्पिटलमा हुदा पनि यहाँ मलाइ धेरै दिन नराख घर लैजा भन्दै म सँग तर्किनु हुन्थ्यो ! म भने तपाई लाइ केहि हुदैन ... यहाँ ल्याए पछी अब निको हुन्छ भनेर भन्थे र उहा चुप लाग्नु हुन्थ्यो ! म भने - बस तपाइँ हिम्मत राख्नुस हरेस नखानु मात्र भन्थे! अब सायदै यो महिना मात्र होला, खालि मरिसकेका मान्छेहरु (आफन्त) सँग मात्र सपनामा गफ हुन्छ यस्तो हुनु भनेको दिन छोटो हुनु हो भन्ने गर्नु हुन्थ्यो र तर केहि समय अघि देखि के भएको थियो कुन्नि, बा सानै कुरामा पनि बढी आतिनु हुन्थ्यो ! यस पटक म आफैले ४/५ दिन जति हस्पिटल राखेर .. अब ठिक हुन्छ भन्ठानेर घर ल्याएको दुइ दिन मै बा बित्नु भो ! हस्पिटल लादा भन्दा ल्याइ सके पछी उहाको मुहार निक्कै उज्यालो थियो अब साह्रो केहि हुदैन जस्तो देखिएको थियो ! त्यसैले त ... आज मासु खाने, बारीमा पाकेको आँप खाने .. ठुली भाउजु लाइ जेठी दुलै.. लु  आज चाही बोडी खाने है ....  भन्नु हुन्थ्यो ! यसरी खाना खानु हुन्थ्यो, राम्रो सँग गफ गर्नु हुन्थ्यो  - तन्दरुस्त झैँ ! सायद उहा लाइ पनि अब त मर्दिन जस्तो लागेको थियो होला ! तर त्यसै दिन हामी सँगै गफ गर्दा गर्दै ... (रेडियोको समाचार सुन्दा सुन्दै ) उहाको वाक्य बस्यो .... विहान ७, साढे सात बजे तिर ... त्यसको दुइ / साढे दुइ घण्टा पछि त ... (उहाले बाइ भने पनि नभने पनि छाडेर जानु भयो सदाको लागी ! अनि लाग्यो कति सजिलै ... पत्यार नलाग्दो तरिकाले, नर्मल केशमा पनि मान्छे मर्दा रहेछन भन्ने लाग्यो !
मैले कितावहरुमा अनि धेरै राम्रा व्यक्तिहरुको जीवनी पढ्दा भेटेको थिए ... कमै मान्छेहरु मात्र जुन दिन जन्मन्छन त्यहि दिन समय र तिथि पारेर मर्छन पनि जो भाग्यमानी र असल मान्छे हुन्छन भन्ने कुरा ! हाम्रो बाको केशमा पनि त्यहि भयो ठ्याक्कै उहा वि.स. २००७ असोज ८ गते आइतबार, भूमिराजको दिन जन्मेर वि.स. २०७१ साल असोज ८ गते आइतबार, भुमिराजकै दिन दिवंगत हुनु भएको थियो यो मानेमा भने उहा भाग्यमानी नै रहनु भयो ! तर विताबहरुमा लेखीए जस्तो महान अरुको लागि त कतिको हुनु हुन्थ्यो त्यो त थाहा भएन तर हाम्रो लागि भने हौसला र प्रेनणादायी नै हुनु हुन्थ्यो भन्ने कुरामा कुनै दुइमत थिएन !
थाहा छैन मेरो कारणले मेरा बा जीवनमा कतिको खुसि हुनु भएको थियो भनेर तर दु:ख नदिए पनि प्रत्यक्ष रुपमा मेरै कारणले औधि छाती चौडा पार्ने गरि खुसि हुनु भएको मैले देख्या भने थिइन ! मैले सोचेको थिए मेरो कारणले गर्दा कुनै दिन मेरो बाको आँखामा हर्स, खुसीको उमंग भरिएको देख्न पाऊ , त्यो दिन म उहाको छोरा भएकोमा गर्व गर्न सक्ने थिए अनि त्यहि नै मेरो जिन्दगीको ठुलो उपलब्धि पनि हुने थियो ! यो मेरो रहर पनि अधुरोमै सिमित भयो ! मलाइ याद छ एक पटक म घर बाट बाहिर काममा जाने वेलामा ... बाले छिटो गर गाडीले छाड्छ, भन्दै मेरो सामान, ब्याग चलाउदैहुन्थ्यो ... त्यतिवेलै मैले उहालाई भित्र कोठामा वोलाए र मेरो घाटीमा भएको सुनको सिक्री खोलेर उहाको गलामा लगाई दिए अनि कोठाबाट बाहिर निस्कन मात्र के लागेको थिए ... बाको आँखा भरि बररर ... आशु भरियो ...बानिशब्द भएर मलाई हेरी रहनु भयो ... मैले नि नरुनुस, बस्नुस, ...गए केहि भन्न सकिन ... गला नै अबरुद भयो ! अनि सरासर बाहिर निस्केर आफ्नो सामना बोकेर कसैलाई नहेरी, केहि नभनी, पछाडी नफर्की गएर गाडी चढेको थिए ! यसरी घरबाट बाहिर हिड्दा पहिला पहिला आमा कहिले कही रुने गर्नु हुन्थ्यो त्यसैले मैले सधै घर बाट टाढा कतै काममा जादा ममी लाइ सम्झाएर... कराएको हुन्थे ... म हिड्दा कहिल्यौ नरुनु भनेर ! तर त्यस घटना भन्दा अघि कहिल्यै मेरा बा त्यसरी रुएको देखेको थिन !
       
बाको सबै भन्दा प्यारो सन्तान म नै थिए ! हुन् त कुनै पनि अभिभावकले आफ्ना सबै सन्तान लाइ समान नै ठान्लान तर नि पहिलो प्राथमिता भने मैले पाउने गर्थे ! सायद कान्छो परेको ले पो हो कि ? हुन् त कान्छी वुने पनि थि तर नि बाले किनेर ल्याएको हरेक कुरामा पहिलो पटक आफ्नो लागि छान्ने जिम्वा मैले नै पाउथे ! काममा पनि धेरै नै जोगिन्थे ! बाले दादा र दि लाइ भन्दा राम्रो पेन,कपि, ड्रेस मलाइ नै ल्याइ दिनु हुन्थ्यो ! अरु सबैले सरकारी स्कुल पढ्नु भएको थियो भने मलाई मात्र प्राइभेट स्कुल भर्ना गर्दिनु भएको थियो, अनि मलाइ सानै देखि कोर्षको किताब देखि बाहेक अरु फाल्तु किताब र पेपरमा किनेर बढ्ने बानि थियो .. त्यसरी फाल्तु किताब र पेपर किन्दा किन बढी खर्च गरेको त्यसमा भन्नु हुन्थ्यो तर कहिले रोक्नु भएन   – यो मानेमा म बाको प्यारो छोरा थिए ! तर बासँग लामो समय सँगै विताउने सौभाग्य भने कहिल्यै पाइन् मैले ! विगत ११ / १२ वर्ष अघि देखि पढाई र कामको सिलसिलामा म घर देखि बाहिर नै रहे र बाको अन्तेष्ठीको समय सम्म पनि बा मुलघर (कोहबरा) मा र म दमक घरमा ! तर म जति उहाको साथ् रहे उक्त समयमा बा सँग बढी डिस्कस गरेर सताउने पनि म नै थिए ... जबाफ फर्काइ हाल्थे ! बाबढी ड्रिंङ्गस नगर्नुस .... भनेर बढी पिउन दिन्नथे, चाडपर्वमा –‘बा पर्व तपाइँलाइ मात्र होइन सबै लाइ लागेको हो नि ... एकलै पिएर, आफ्नै तालमा सुतेर बस्ने होइन नि ! सबै सँगै खानपिन गर्ने अनि हो रमाउने, अनि बा रिसाउदा सबै बाको गाली खानु पर्छ भनेर टाढ-टाढा जानु हुन्थो म भने झन् नजिक गएर सताउथे अनि सम्झाउथे !

       बाबेला बेलामा ज्योतिषे बाजेलाइ सोध्नु हुन्थ्यो मलाई कुन छोराले पाल्छ भनेर, म उतिवेलै भन्दिथे म पाल्छु भनेर ! ज्योतिषे बाजेले पनि भन्दिथे ... सबैले माया गर्छन, पाल्छन हेला गर्दैनन भनेर, बापनि गमक्क पर्थे र हिड्थे ! सानामा मलाइ बाले –‘मलाइ पाल्ने छोरा भन्दै बोकेर गाउ डुलाउनु हुन्थ्यो तर कस्ले पाल्ने कुरा नभै बालाइ आर्यघाट फाल्ने जिम्वा आइलाग्यो जुन शब्द समझदा नि मन रुन्छ ! म मनमनै भन्थे: भगवान अब बाले दु:ख गर्नु नपरोस ... तिनले हाम्रो प्रगती हेरुन र विपदमा हाम्लाई हौसला प्रदान गर्दिउन ! बस ! अब गर्ने र पाल्ने पालो हाम्रो !’  बाआमा लाइ छोरा छोरी हुनु भनेकै यस्तै सहारा न हो भन्ने लाग्थ्यो तर भगवानले यसरी हाम्रो बाले कहिले केहि गर्नु नपर्ने गरी, हामी बीच बाट चटक्कै लानु हुन्छ भन्ने लागेकै थिएन !

       समयले म सँग त केहि पनि सँगै रहन दिएन सिवाय #मान्छेहरुको सम्झना ! त्यस्तै हो बासँग विताएकापलहरु, उहाको आदत र उहाले भन्ने गरेका कुराहरु अब सम्झन मात्र भएर रहे ! मेरा बापरलोक जानु भयो र पन्ध्र पन्ध्र दिनमा आउने जुन जस्तो नभएर, हर रात झुल्किने तारा बन्नु भयो त्यो पनि हाम्रो लागी ! ताकी हामीलाई उहाको सम्झना आएमा हर रात हामी उहा लाइ हेर्न सकौ अनि उहाले हाम्लाई ! घर आउदा मात्र भेट हुने छोरा अब तिमी विश्वको जुनसुकै कुना या जहाँ गए नि हर रात म तिम्लाई हेर्न सक्छु अनि तिम्ले मलाई #भेट सधै हुन्छ #जस्ट महसुस मात्र गर भने झैँ लाग्छ कता कता उहाको आत्माले !

No comments:

Facebook Blogger Plugin by Safe Tricks

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...